‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले विरोध प्रदर्शन गर्नसक्ने आकलन गर्दै सुरक्षा निकायहरूले तीनवटै जिल्लामा सतर्कता बढाएका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी परिसरलाई अतिरिक्त सतर्कता अपनाउन निर्देशन दिएको छ । सोहीअनुसार शहरका मुख्य चोक तथा संवेदनशील स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ ।
भक्तपुरस्थित घरबाट पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । त्यसपछि प्रहरीले सुरक्षा व्यवस्था झनै सुदृढ पारेको हो।
प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने तयारी गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
हाल उनलाई भद्रकालीस्थित हिरासतमा राखिएको छ । आजै अदालतमा उपस्थित गराई म्याद बढाएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ ।