लन्डन। नेपालबाट बेलायत जानेलाई डिपेन्डेन्ट प्रतिबन्ध, जागिर र आवासको संकट तथा आप््रवासन घट्दो भए पनि नेपाली विद्यार्थीको संख्या पछिल्लो एक वर्षमा ८९% ले बढेको छ।
बेलायतको गृह मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ समाप्ति सम्म जारी कुल ४,३९,९२४ अध्ययन भिसामध्ये २०,५७२ नेपाली विद्यार्थी छन्, जसले नेपाललाई यूके अध्ययन भिसा लिने पाँचौँ ठूलो राष्ट्र बनाएको छ।
भारत, चीन, पाकिस्तान र नाइजेरिया शीर्ष चारमा छन्, जबकि नेपालले यस वर्ष अमेरिकालाई प्रतिस्थापन गर्दै शीर्ष पाँचमा स्थान बनाएको छ।
गृह मन्त्रालयको तथ्याङ्कले सेप्टेम्बर २०२५ सम्म एक वर्षमा शरण दाबी गर्नेहरूको संख्या एक लाख १० हजार ५१ को उच्च रेकर्डमा पुगेको देखाएको छ ।
साना डुङ्गामा अनियमित मार्ग प्रयोग गरेर आएका गैर कानूनी आप्रवासीको संख्या अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको छ ।
सेप्टेम्बर २०२५ सम्म १२ महिनामा इंगलिस च्यानल मार्गबाट ४५ हजार ६ सय ५९ जना बेलायत आइपुगेका छन् ।
गृह मन्त्रालयको विज्ञप्तिमा यो तथ्यांक सन् २०२२ को उच्च रेकर्ड संख्या ४५ हजार ७ सय ७४ संग नजिक छ ।
सेप्टेम्बरसम्म होटलहरुमा शरण खोज्नेहरूको संख्या गत वर्षको सोही समयको तुलनामा २ प्रतिशतले बढेको पनि तथ्याङ्कमा उल्लेख छ ।