लन्डन । बेलायतमा घर किन्न चाहनेहरूका लागि फेरि एउटा अप्रिय खबर आएको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, अप्रिल महिनामा घरको मूल्य अघिल्लो वर्षको तुलनामा झण्डै ३ दशमलव ८ प्रतिशतले बढेको छ ।
यो वृद्धि अपेक्षाभन्दा धेरै हो किनकी गत मार्चमा यो दर शून्य प्रतिशतमा खुम्चिएको थियो ।
यस्तो तीव्र वृद्धिको एउटा कारण विगत वर्षको स्टाम्प ड्युटी अर्थात् घर खरिद कर परिवर्तनसँग जोडिएको सांख्यिकीय आधार प्रभाव हो ।
विश्लेषकहरूका अनुसार उच्च ब्याजदरका बाबजुद घरको माग बलियो रहनु पनि अर्को मुख्य कारण हो । धेरै मानिस अझै पनि घर किन्न हतार गरिरहेका छन्, किनकि आगामी महिनाहरूमा मूल्य अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
तर यसको असर सामान्य नागरिकमाथि स्पष्ट देखिन थालेको छ। पहिलो पटक घर किन्न खोजिरहेका युवाहरूका लागि अहिलेको बजार निकै कठिन बन्दै गएको छ । घरको मूल्य मात्रै होइन, मोर्गेज अर्थात् घर किन्न लिइने ऋणको लागत पनि अझै महँगो छ, र दैनिक जीवनयापनको खर्च बढेकाले धेरै परिवार दबाबमा छन् ।
बेलायत अहिले पनि ‘कस्ट अफ लिभिङ क्राइसिस’ अर्थात् महँगी संकटबाट गुज्रिरहेको छ । खाना, ऊर्जा र यातायात खर्च बढिरहेका बेला घरको मूल्य पनि उकालो लाग्नुले जनतामाथिको आर्थिक दबाब अझ बढाउन सक्छ ।
बेलायतको मुद्रास्फीति दर भने २ दशमलव ८ प्रतिशतमा स्थिर रहेकाले बैंक अफ इङ्ल्यान्डले ब्याजदर तुरुन्तै घटाउने सम्भावना कम देखिएको विश्लेषण गरिएको छ ।
यदि ब्याजदर उच्च नै रह्यो भने ऋण लिनेहरूलाई थप भार पर्नेछ, तर ब्याजदर घटाइयो भने घर किन्नेको संख्या अझ बढ्न सक्छ, जसले मूल्य पुनः चर्काउन सक्छ। अर्थात् बेलायतको आवास बजार अहिले एउटा जटिल मोडमा पुगेको छ — एकातिर घरको माग घटेको छैन, अर्कोतिर सर्वसाधारणको आम्दानीले बजारलाई भेट्टाउन सकिरहेको छैन ।