नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागिता अत्यधिक देखाउन नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा एआईबाट निर्मित नक्कली फोटो र भिडियो पोस्ट गरेको खुलासा भएको छ ।
हिजो शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहसँग सम्बन्धित ती फेक फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन् । धेरै प्रयोगकर्ताले वास्तविक तस्बिरसँग नक्कली तस्बिर तुलना गर्दै एमालेले गलत र भ्रामक प्रचार गरेको आरोप लगाउँदै आलोचना गरिरहेका छन् ।
सामाजिक सञ्जालमा देखिएको नक्कली तस्बिर पहिलो पटक बचनराज जोशी नामक फेसबुक अकाउन्टबाट पोस्ट गरिएको बताइएको छ । त्यसपछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेलगायतले महाधिवेशन उद्घाटन समारोहमा ‘जनसागर उर्लिएको’ दाबी गर्दै उही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
यस घटनापछि सामाजिक सञ्जाल प्रयोगकर्ताबीच एआई प्रविधिको दुरुपयोग र राजनीतिक प्रचारमा फैलाइने भ्रामक सामग्रीको विषयमा बहस चर्किएको छ ।