राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’ आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ। सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, उपसभापति पदका लागि सहमति भएका स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी छन्।
तर, काठमाडौँ महानगरका मेयर बालेन शाह र उपसभापति हुने सहमति भएका कुलमान घिसिङ सहभागी भएनन्।
कार्यक्रमको मुख्य उद्देश्य नागरिक उन्मुक्ति पार्टीका पूर्व नेताहरू र थरूहट/थारूवान अभियान्ताहरुलाई रास्वपामा समायोजन गर्नु हो। सभामा ब्यानरमा लामिछानेको ठूलो तस्बिर प्रोजेक्ट गरिएको छ।
सहमति अनुसार, बालेन शाह रास्वपाको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् भने कुलमान घिसिङ उपसभापति हुने छन्। रास्वपा र बालेनबीच पुस १३ गते एकता सम्झौता भएको थियो भने रास्वपा र कुलमानको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सात बुँदे सहमति भएको थियो।
यस क्रममा आइतबार रास्वपाले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। कुलमान पक्षबाट भने केन्द्रीय सदस्य नियुक्ति बाँकी छ। यद्यपि, बालेन र कुलमानले अझै शपथ लिन बाँकी रहेको छ।