लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी तीन सातादेखि बेपत्ता भएका छन्।
लन्डनको बीपीपी युनिभर्सिटीमा अध्ययनरत महोत्तरी जलेश्वर–११ पिगौनाका २६ वर्षीय शंकर साह डिसेम्बर १५ मा इष्ट लन्डनको फरेष्ट गेट क्षेत्रमा अन्तिमपटक देखिएका थिए। त्यसयता उनी परिवार र साथीभाइसँग सम्पर्कविहिन छन्।
एमएस्सी इन इन्जिनियरिङ म्यानेजमेन्ट अध्ययनका लागि सेप्टेम्बरमा बेलायत आएका शंकर बेपत्ता हुनु अघि फरेष्ट गेटस्थित एक होटलमा बस्दै आएका थिए। पछि उनका साथीहरूले इष्ट ह्याम क्षेत्रमा उनको पासपोर्ट फेला पारेका छन्।
बीपीपी युनिभर्सिटी नेपाली सोसाइटीका अनुसार काम नपाउँदा उनी तनावमा रहेको बताइन्छ। लन्डनस्थित नेपाली दूतावासले हालसम्म उनको अवस्थाबारे कुनै जानकारी नआएको जनाएको छ।
शंकरको परिवारले बेलायतमा रहेका नेपाली समुदायलाई खोजीमा सहयोग गर्न र कुनै सूचना भए जानकारी गराइदिन आग्रह गरेको छ।