बेलायतमा ड्रिंक–ड्राइभ गरे जेल, जरिवाना र प्रतिवन्धको नयां कानून

  • प्रकाशित मिति : २०८२ पुष २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतका विभिन्न राज्यमा सवारी चलाउँदा मदिरा सेवनसम्बन्धी कानूनी सीमा फरक–फरक तोकिएको छ ।

इङ्ग्ल्यान्ड, वेल्स र नर्थन आयरल्याण्डको तुलनामा स्कटल्याण्डमा ड्रिंक–ड्राइभसम्बन्धी नियम अझ कडा बनाइएको छ।



सरकारी तथ्यांकअनुसार, इङ्ग्ल्यान्ड, वेल्स र नर्थन आयरल्याण्डमा श्वास परीक्षणमा १०० मिलिलिटर श्वासमा ३५ माइक्रोग्राम अल्कोहलसम्म कानूनी रूपमा स्वीकार्य भएपनि स्कटल्याण्डमा यो सीमा २२ माइक्रोग्राम मात्र छ।

त्यस्तै, रगत परीक्षणमा इङ्ग्ल्यान्ड, वेल्स र नर्दन आयरल्याण्डमा १०० मिलिलिटर रगतमा ८० मिलिग्रामको सीमा छ भने स्कटल्याण्डमा ५० मिलिग्राम मात्र कायम गरिएको छ।

पिसाब परीक्षणमा पनि स्कटल्याण्डको सीमा ६७ मिलिग्राम मात्र छ, जबकि अन्य राज्यमा १०७ मिलिग्रामसम्म अनुमति दिइएको छ ।

विशेषज्ञहरूका अनुसार यी मापनहरूलाई निश्चित ‘पेग’ वा ‘गिलास’ सँग सिधै तुलना गर्न सकिँदैन, किनकि व्यक्तिको शारीरिक अवस्था अनुसार नतिजा फरक पर्न सक्छ।

ड्रिंक–ड्राइभमा दोषी ठहरिएमा जेल सजाय, असीमित जरिवाना र ड्राइभिङ प्रतिवन्ध जस्ता कडा कानूनी कारवाही भोग्नुपर्ने हुन्छ। कानूनी सीमाभन्दा माथि वा मदिरा सेवन गरेर सवारी साधन चलाएको पाइएमा ३ महिना जेल सजाय, २ हजार ५ सय पाउण्डसम्म जरिवाना वा ड्राइभिङ प्रतिवन्ध जस्ता सजाय भोग्नुपर्नेछ।

यदि मदिरा सेवन गरी गाडी चलाएको वा चलाउने प्रयास गरेको पाइएमा ६ महिनासम्म जेल, असीमित जरिवाना र कम्तीमा १ वर्षको ड्राइभिङ प्रतिवन्ध लाग्न सक्ने समाचारमा जनाइएको छ ।

१० वर्षभित्र दोस्रो पटक दोषी पाइएमा ३ वर्षसम्म प्रतिवन्ध लाग्ने व्यवस्था छ । मदिरा सेवन गरी लापरवाहीपूर्वक सवारी चलाउँदा कसैको मृत्यु भएमा आजीवन जेल सजाय, असीमित जरिवाना र कम्तीमा ५ वर्षको ड्राइभिङ प्रतिवन्ध लाग्नेछ।

साथै, यस्तो अवस्थामा लाइसेन्स फिर्ता पाउन विस्तारित ड्राइभिङ परीक्षा (एक्स्टेन्डेड ड्राइभिङ टेष्ट) पुनः उत्तिर्ण गर्नुपर्ने हुन्छ। परीक्षणका लागि आवश्यक नमुना (सास, रगत वा पिसाब) दिन अस्वीकार गरेमा पनि ६ महिनासम्म जेल र एक वर्षको प्रतिवन्ध लाग्न सक्छ।

१२ महिनाभन्दा बढी प्रतिवन्ध लागेका चालकहरूले अदालतको अनुमतिमा ‘ड्रिंक–ड्राइभ रिह्याबिलिटेसन स्किम’'(डीडीआरएस) कोर्स लिएर प्रतिवन्ध अवधि केही घटाउन सक्ने सुविधा पनि छ ।