लन्डन । बेलायतमा लोकप्रिय गोर्खा कप यस वर्ष २४ मे मा हुने भएको छ ।
आयोजक तमु धीं यूकेले गोर्खा कप फुटबल प्रतियोगिता आगामी २४ मेमा गर्ने तयारी रहेको जानकारी दिएको हो । खेल अल्डरसटस्थित क्वीन एभिन्यू खेलकुद मैदानमा हुनेछ । गत वर्ष २३ औं संस्करणको प्रतियोगिता आइतबार २५ मे २०२५ मा भएको थियो ।
२३औँ गोर्खा कप मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्टले उपाधि जितेका थिए । उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । उक्त संस्करणको गोर्खा कपमा मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ दुई गरी ५० टिम सहभागी थिए ।
गोर्खा कप डायस्पोरामा नेपाली समुदायले गर्ने सबैभन्दा ठूलो इभेन्टका रूपमा परिचित छ । गत वर्ष नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ समेत प्रतियोगितामा उपस्थित भएकी थिइन् ।