नेपाली कांग्रेसभित्रको विवाद दुई विषयमा अझै मिल्न सकेको छैन । बिहानदेखि दुई चरणमा बसेको वार्तामा अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन् ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएकाे छैन ।
उनीहरुले यो विषय सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग छलफल गर्नुपर्ने बताएपछि वार्ता समितिको बैठक रोकिएको थियो ।
वार्ता टोलीमा संस्थापन समूहका तर्फबाट नेताहरू बालकृष्ण खाँण, रमेश लेखक, डाक्टर मीनेन्द्र रिजाल र सह महामन्त्री जीवन परियार छन् ।
त्यस्तै विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका तर्फबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल र मधु आचार्य छन् ।
त्यस्तै विशेष महाधिवेशन पक्षधरले नेताहरू गुरु घिमिरे र देवराज चालिसेलाई पनि वार्ता टोलीमा राखेको छ । विशेष महाधिवेशन पक्षधरबाट वार्ता टोलीमा रहेकाहरूले यी दुई माग राखेपछि संस्थापन समूहका वार्ता टोलीका सदस्यद्वय खाँण र लेखक सभापति देउवा र कार्यवाहक सभापति खड्कासँग छलफल गरेर फर्किएपछि वार्ता गर्ने भनिएको छ ।
यी बाहेकका विषय संस्थापन समूह र विशेष महाधिवेशन समूह सहमति नजिक रहेको वार्ता टोलीका एक सदस्यले बताए ।
विशेष महाधिवेशनलाई पार्टीले नै स्वामित्व लिने विषयमा संस्थापन समूह लचक देखिएको एक सदस्यले बताए ।