मंगलबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौँ महानगरको फोहोरमैला बोक्ने गाडी चालक रहेको खुलेको छ।
भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर–५ भेलुखेल क्षेत्र सिल गरिएको छ। प्रहरीका अनुसार परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्याएको छ भने परिवारको अन्य सदस्यलाई निगरानीमा राखिएको छ।