बद्लिएको कांग्रेसभित्रै चुनौतीको घेरामा गगन

  • प्रकाशित मिति : २०८२ माघ १०, शनिबार
  • नेपाल टेल संवाददाता

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको आठ दिनपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर औपचारिक रूपमा पदबहाली गरेका छन्। पदबहालीका क्रममा उनले गरेको पहिलो हस्ताक्षर प्रतिबद्धताले पार्टी र देश दुवैलाई परिवर्तन गर्ने दाबी गरेको छ।

थापाले पहिलो हस्ताक्षर गरेको प्रतिबद्धतामा उल्लेख छ—
‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश। यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी। हाम्रो केवल एक ध्येय छ—देशको समुन्नति।’



पार्टीले आगामी प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिसकेको अवस्थामा थापाको उदयलाई कांग्रेसभित्र ‘नयाँ युगको सुरुवात’का रूपमा प्रस्तुत गरिएको छ। तर बद्लिएको भनिएको कांग्रेसभित्रै थापाका लागि चुनौती भने समाप्त भएको छैन।

महाधिवेशनको वैधतामै विवाद

थापा गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन्। तर उक्त महाधिवेशनलाई निवर्तमान संस्थापन समूह र डा. शेखर कोइराला नेतृत्वको समूहले स्वीकार गरेका छैनन्।

विशेष महाधिवेशनलाई मान्यता नदिन निर्वाचन आयोगमा दिएको निवेदन अस्वीकार भएपछि देउवा र कोइराला समूह सर्वोच्च अदालत पुगेका छन्। माघ ४ गते दायर गरिएको रिटमाथि माघ ६ गते प्रारम्भिक सुनुवाइ भए पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन। तर मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन।

सुनिल पोखरेलको इजलासले निर्वाचन आयोगलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यसले अदालतको अन्तिम फैसला कांग्रेसको नेतृत्व र वैधानिकतामाथि कस्तो प्रभाव पार्छ भन्ने प्रश्न अझै खुलै छ। पार्टीभित्रको यही विवादका कारण कांग्रेस एकजुट भएर निर्वाचनमा जान सक्छ कि सक्दैन भन्ने आशंका कायमै छ।

निर्वाचन क्षेत्र परिवर्तनको जोखिम

थापाका लागि अर्को ठूलो चुनौती उनको निर्वाचन क्षेत्र परिवर्तन हो। २०७०, ०७४ र ०७९ को निर्वाचनमा काठमाडौँ–४ बाट लगातार विजयी भएका थापा यसपटक क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ पुगेका छन्।

कोर मधेसी समुदायको बाहुल्य रहेको सर्लाही–४ मा थापाले जित निकाल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न चर्को बनेको छ। उक्त क्षेत्रमा उनका प्रमुख प्रतिस्पर्धी पुराना कांग्रेसी नेता डा. अमरेशकुमार सिंह छन्, जो हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। डा. सिंह अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए भने त्यसअघिल्लो निर्वाचनमा कांग्रेसकै टिकटबाट निर्वाचित भएका थिए।

नयाँ अनुहारको प्रयोग

तेस्रो चुनौती उम्मेदवार चयनसँग जोडिएको छ। थापाले प्रत्यक्षतर्फका उम्मेदवार छनोटमा पुराना र अनुभवी नेताभन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन्। १६५ निर्वाचन क्षेत्रमध्ये उनले प्राय क्षेत्रमा नयाँ उम्मेदवार अघि सारेका छन्।

पुराना नेताको विरासत जोगाउँदै नयाँ अनुहारले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको उत्तर अब निर्वाचन परिणामले मात्र दिनेछ।