लन्डन दुर्घटनामा नेपाली विद्यार्थी मृत्यु प्रकरण: दोषी बेलायती सेलिब्रेटीलाई १२ वर्ष जेल

  • प्रकाशित मिति : २०८२ फाल्गुन २०, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन- गत अक्टोबर महिनामा लन्डनमा एक नेपाली विद्यार्थीको ज्यान जाने गरी गाडीले ठक्कर दिएको अपराधमा दोषी ठहर भएका चर्चित बेलायती सेलिब्रेटी जेल चलान भएका छन् ।

गत अक्टोबर १८ मा पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा गेट्स नामले चिनिने बेलायतका अवार्ड वीनिङ र्यापर जस्टिन क्लार्क स्यामुएल १२ वर्षका लागि जेल चलान भएका हुन्।



४१ वर्षीय गेट्सलाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर गर्दै बेलायती अदालत ओल्ड बेलीले योे जेल सजाय गरेको हो । अदालतले उनलाई १७ वर्षको लागि सवारी चलाउन अयोग्य समेत ठहर गरेको छ ।

लन्डन इल्फोल्र्डको रेडब्रिज लेनमा अक्टोबर १८ को राति ११ः३० मा गेट्सले चलाएको कारले युविनलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । घटनाको २ दिनपछि उपचारका क्रममा अस्पतालमा युविनको मृत्यु भएको थियो ।

युविनलाई ठक्कर दिएपछि चालक गेट्स भने गाडी नरोकी भागेका थिए । दुर्घटनाका बेला उनी मापदण्डभन्दा डेड गुणा बढी मदिरा सेवन गरेको र अधिकतम ३० माइल प्रतिघण्टाको सडकमा दोब्बर अर्थात् ६० माइल प्रतिघण्टाका दरले गाडी चलाएको अदालतले ठहर गरेको छ ।

युविनलाई ठक्कर दिएकै दिन अभियुक्त गेट्सले कम्तीमा ६ पटक रातो बत्तीमा समेत गाडी नरोकेको, सडकपेटीमा गाडी चढाएको, गलत लेनमा गुडाएको र अरु केही गाडीसंग समेत ठोक्काएको जस्ता अरु थुप्रै लापरवाही गरेको पाइएको थियो ।

अदालतमा सुनुवाइका क्रममा अभियुक्त गेट्स १६ वर्षको उमेरदेखि नै विभिन्न खालका चोरी, लुटपाटदेखि ड्राइभिङ अपराधहरुमा संलग्न रहेको र उनीमाथि विभिन्न २७ अपराधका लागि १२ वटा अभियोग लागिसकेको पनि जनाइएको थियो ।

आफ्ना बाबा आमाका एक्ला छोरा युविन उच्च शिक्षाका लागि एक वर्षअघि सेप्टेम्बरमा बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोश्रो वर्षमा अध्ययनरत थिए ।

युविनको असामयिक मृत्युपछि बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले उनको परिवारलाई चन्दा संकलन गरि आर्थिक सहयोग गरेका थिए ।