इन्धनको मूल्य आकासिँदैः बेलायतसहित विश्वका धेरै देशमा पेट्रोल महंगियो

  • प्रकाशित मिति : २०८२ चैत्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

इजरायल, अमेरिका र इरानबीच युद्ध सुरु भएपछि नै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७३ डलरबाट बढेर मार्च ३१ सम्म करिब १ सय १७ डलर पुगेको छ ।

ऊर्जाको थोक मूल्य बढेपछि यसको प्रत्यक्ष असर पेट्रोल पम्पहरूमा देखिन थालेको छ, जसको प्रभाव अहिले विश्वभर फैलिएको छ ।



अमेरिकामा युद्ध सुरु भएयता पेट्रोलको औसत मूल्य करिब १ डलरले बढेको छ । अहिले त्यहाँ पेट्रोलको मूल्य करिब ४ डलर प्रति ग्यालन (३.७८ लिटर) नाघेको छ, जुन करिब चार वर्षयताकै उच्च स्तर हो ।

बेलायतमा पनि पेट्रोलको औसत मूल्य १४ प्रतिशतले बढेको छ भने डिजेलको मूल्य २७ प्रतिशतले उकालो लागेको छ ।

श्रीलंका र बंगलादेशजस्ता देशहरूले इन्धनको अभावका कारण राशनिङ प्रणाली (सीमित वस्तु जस्तै खाद्यान्न, पेट्रोल आदिलाई निश्चित मात्रामा बाँड्ने व्यवस्था) लागू गर्न थालेका छन् । गत साता स्लोभेनिया यस्तो कदम चाल्ने पहिलो युरोपेली संघ सदस्य राष्ट्र बनेको छ ।

अष्ट्रेलियाले बढ्दो मूल्य नियन्त्रण गर्न तीन महिनाका लागि इन्धनमा लाग्ने कर आधा गरेको छ । साथै, त्यहाँका दुई राज्यमा निजी सवारी प्रयोग नगर्न प्रोत्साहनस्वरूप अस्थायी रूपमा निःशुल्क सार्वजनिक यातायात सेवा उपलब्ध गराइएको छ ।