लुफ्थान्साले गर्‍यो २० हजार उडान कटौती

  • प्रकाशित मिति : २०८३ बैशाख १०, बिहीबार
  • नेपाल टेल संवाददाता

जर्मनीको लुफ्थान्सा वायुसेवा कम्पनीले इरानमा भइरहेको युद्धका कारण हवाई इन्धनको आपूर्ति घटेको र भाउ बढेको कारण आगामी ६ महिनामा २० हजार उडान कटौती गर्ने बताएको छ।

अमेरिका र इसराइलले फेब्रुअरी २८ मा आक्रमण गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ।



यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। हवाई इन्धनको पनि आपूर्ति घटेको र भाउ बढेको छ।

सो समस्यालाई सम्बोधन गर्न जर्मनीको राष्ट्रिय ध्वजाबाहकले उडान कटौती गर्ने भएको हो।

२० हजार उडान कटौती गर्दा अक्टोबरको अन्त्यसम्ममा ४० हजार टन इन्धन बचत हुने लुफ्थान्साले जनाएको छ। यी कटौती गरेपछि बाँकी उडानका लागि आगामी हप्ताहरूमा इन्धनको कमी नहुने कम्पनीले बताएको छ।

युरोपभरिका वायुसेवाहरूले हर्मुज बन्द भएकाले हवाई इन्धन अभाव भएर उडानमा गम्भीर अवरोध निम्त्याउन सक्ने चेतावनी दिंदै आएका छन्।

लुफ्थान्साले भने उडान कटौतीको घोषणा नै गरेको हो।

इन्धनको भाउ बढेकाले एयर फ्रान्सले यसअघि नै लामो उडानमा एक सय युरो अतिरिक्त शुल्क लिन थालेको भनेर पोलिटिको अनलाइनले लेखेको छ।

इरान युद्धका कारण मध्यपूर्व र एसियामा पहिल्यै देखि नै उडान प्रभावित भइसकेका छन्।