कर्मचारीको तलब बढ्दा कसको कति पुग्छ ?

  • प्रकाशित मिति : २०८३ जेष्ठ १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गरेको छ । तलब वृद्धि गरेसँगै मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् ।

सबै तहका कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । त्यस्तै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशतबराबर मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उनले बताए ।



सरकारका अनुसार तलब वृद्धि र प्रोत्साहन भत्तासहित कर्मचारीले हाल पाइरहेको पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुनेछ । यस व्यवस्थापछि ग्रेडसहित सरकारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँदेखि सुरु हुने र उच्च तहका कर्मचारीको पारिश्रमिक एक लाख रुपैयाँभन्दा माथि पुग्ने अर्थमन्त्री वाग्लेले बताए ।

नयाँ व्यवस्थाअनुसार खरिदारको तलब ३२ हजार ९ सय २ रुपैयाँबाट बढेर ३६ हजार १ सय ९२ रुपैयाँ पुगेको छ भने नायब सुब्बाको ३४ हजार ७ सय ३० बाट वृद्धि भई ३८ हजार २ सय ३ रुपैयाँ पुगेको छ ।

यस्तै, अधिकृतको ४३ हजार ६ सय ८९ बाट बढेर ४८ हजार ५८ रुपैयाँ कायम भएको छ । उपसचिवको तलब ४८ हजार ७ सय ३७ बाट बढेर ५३ हजार ६ सय ११ रुपैयाँ पुगेको छ भने सहसचिवको ५६ हजार ७ सय ८७ बाट ६२ हजार ४ सय ६६ रुपैयाँ कायम भएको छ ।

सचिवको ७२ हजार ८२ रुपैयाँबाट ७९ हजार २ सय ९० रुपैयाँ पुगेको छ भने मुख्य सचिवको तलब ७७ हजार २ सय ११ रुपैयाँबाट बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ ।