६ बजेसम्म गौरीफन्टा नाकाबाट डेढ हजार बढिको उद्दार

  • प्रकाशित मिति : २०७७ जेष्ठ ८, बिहीबार
  • nepaltale.com

भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट आजपनि उद्दार जारी राखिएको छ।

कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो।

गौरीफन्टा नाकाबाट ६ बजेसम्म एक हजार पाँच सय ३७ जनालाई भित्र्याईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार उद्दारको क्रम जारी रहेको छ। ‘भारतका विभिन्न क्षेत्रबाट ३४ वटा गाडीमा नेपालीहरु नाकासम्म पुगेका थिए। उनीहरुको र्‍यापिड टेस्ट गर्दै भित्र्याउने काम भईरहेको छ’ बस्नेतले दिनेश खबरलाई भने।

यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा आज भने सीमानाकामै र्‍यापिड टेस्ट भईरहेको हो। सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै र्‍यापिड टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।-दिनेशखबर