प्रधानमन्त्री निवास सुधार र सुरक्षामा ३ करोडभन्दा बढी बजेट छुट्याइयो

  • प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार
  • नेपाल टेल संवाददाता

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले प्रधानमन्त्री निवासको भौतिक सुधार तथा सुरक्षा व्यवस्थाका लागि ठूलो रकम विनियोजन गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत प्रधानमन्त्री निवासका लागि वासिङ मेसिन, फ्रिज, टीभी, कम्प्युटर, प्रिन्टर, ल्यापटप र गिजरलगायतका सामग्री खरिद गर्न १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ।



त्यस्तै, फर्निचर तथा फर्निसिङका लागि थप ७८ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।

सुरक्षा व्यवस्थालाई लक्षित गर्दै प्रधानमन्त्री कार्यालयको बाहिरी गेटमा समेत ठूलो लगानी प्रस्ताव गरिएको छ। भेहिकल स्क्यानर तथा अन्य सुरक्षा उपकरण जडानका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

यसरी प्रधानमन्त्री निवासको मर्मत, सुधार र सुरक्षा व्यवस्थापनका विभिन्न शीर्षकमा कुल ३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।

सरकारको यो निर्णयलाई सामान्य प्रशासनिक सुधारका रूपमा व्याख्या गरिएको छ भने केही पक्षबाट सार्वजनिक खर्च प्राथमिकताबारे प्रश्न समेत उठ्न थालेका छन्।