अर्थमन्त्री डा. युवराज खतिवडाले भोलि संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट पेश गर्ने भएका छन् । कोरोनाभाइरस महामारीका कारण स्रोत संकुचन भए पनि १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी भएको अर्थमन्त्रालय स्रोतले बतायो ।
चालू वर्षको वैशाख मसान्तसम्मको राजस्व संकलन तथा विदेशी स्रोत परिचालनका अवस्थाका कारण मंगलबार बसेको स्रोत समितिका बैठकले बजेटका अन्तिम अंक नै निर्धारण गर्न सकेन ।
‘दुई आधारमा टेकेर बजेटको अंक निर्धारण हुँदैछ, पहिलो- कोरोना भाइरस महामारीका कारण उत्पन्न आर्थिक संकट असार मसान्तभित्रमा सकिने र दोस्रो- केही महिना अझै लम्बिइ आर्थिक गतिविधि प्रभावित हुने,’ अर्थमन्त्रालयसम्बद्ध स्रोतले न्युज कारोबारसँग भन्यो ।
कमजोर स्रोत परिचालनका अवस्थामा परिमार्जित १६ खर्ब ६६ अर्ब रूपैयाँको बजेट सिलिङभन्दा १५ प्रतिशतसम्म कमी गरेर बजेट ल्याउन ल्याउन अर्थात करिब १४ खर्ब १५ अर्बदेखि ३० अर्बका बीचमा बजेट ल्याउन सुझाव दिइएको भए पनि बजेटका अंक बढ्न लागेको हो ।
‘स्थिति छिट्टै बहाल भएमा हालको बजेटभन्दा ठूलो (करिब १६ खर्ब) आकारमा र संकट लम्बिएमा त्योभन्दा केही सानो (करिब साढे १५ अर्ब रुपैयाँ)को बजेट आउने बेसलाइनमा अर्थमन्त्रीको टिमले बजेट तयारी गरिरहेको छ,’ स्रोतले भन्यो ।
कोरोना संकटपछि अर्थतन्त्र बहाली, स्वास्थ्य क्षेत्रमा बजेट बढाउनु पर्ने आवश्यकता र रोजगारी सिर्जनाका मुख्य तीन क्षेत्रसहित ‘अर्थतन्त्रलाई गति दिने आयोजनाहरु’का लागि समेत बजेट विनियोजन गरिँदा आकार बढ्न लागेको हो ।
बजेटका स्रोतका रूपमा विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले हालसम्म स्वीकृत गरेका कुल ४६ अर्ब र आउने क्रम (पाइपलाइन)मा रहेको करिब ४२ अर्बसहित झन्डै १ खर्ब रुपैयाँबराबरको कोरोनालक्षित सहयोगलाई सरकारले उल्लेख गरेको छ ।
यसबाहेक अन्य द्विपक्षीय र बहुपक्षीय दाताबाट समेत थप सहयोग परिचालन हुने अपेक्षासहित घाटा बजेट प्रस्तुत गर्न लागिएको हो ।
आन्तरिक रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को साढे ५ प्रतिशतसम्म ऋण परिचालन गर्न पाउने लचकताको पनि अधिकतम प्रयोग गर्ने तयारी छ ।