लन्डन– लन्डनस्थित नेपाली दूतावासको आयोजनामा शुक्रबार सम्पन्न ‘नेपाल–यूके इकोनोमिक पार्टनरसीप फोरम २०२६’ मा नेपाल–बेलायतबीच व्यापार, लगानी र प्रविधि सहकार्य विस्तार गर्ने उद्देश्यसहित दुई महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
वेस्ट लन्डन चेम्बर अफ कमर्सले नेपाल उद्योग परिसंघ (सीएनआई) तथा नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनबीसीसीआई)सँग छुट्टाछुट्टै एमओयू गरेको हो। सम्झौताले द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, व्यावसायिक सञ्जाल विस्तार र निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने अपेक्षा गरिएको छ।
फोरमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि र डिजिटल सेवाजस्ता प्राथमिकता क्षेत्रमा बेलायती लगानीलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल–बेलायत आर्थिक सम्बन्ध निरन्तर सुदृढ बन्दै गएको उल्लेख गर्दै दोहोरो कर उन्मूलन सम्झौतासम्बन्धी छलफल जारी रहेको र यसले व्यापार तथा लगानीका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
नेपालका लागि बेलायतका राजदूत रब फेनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालसँग सहकार्य विस्तार गर्न बेलायत इच्छुक रहेको बताए। उनले नेपाली युवाको दक्ष जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको उल्लेख गरे।
फोरममा राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, बेलायती सरकारी निकाय, व्यापारिक संस्था, लगानीकर्ता तथा नेपाली डायस्पोराका प्रतिनिधिसहित १५० भन्दा बढी सहभागीले व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, आउटसोर्सिङ र प्रविधि सहकार्यका विषयमा छलफल गरेका थिए।