गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार वार्षिक लक्ष्यको ८३.५१ प्रतिशत आम्दानी र ८०.५५ प्रतिशत मात्रै बजेट खर्च भएको छ।
सरकारले गत आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। असार मसान्तसम्म १५ खर्ब ८२ अर्ब १६ करोड ८२ लाख रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ।
चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकामा १० खर्ब ४३ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको ८८.४० प्रतिशत हो।
पुँजीगत खर्च भने निकै कमजोर देखिएको छ। चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकामा एक खर्ब ९० अर्ब ८४ करोड १४ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको ४६.७९ प्रतिशत हो।
वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकामा तीन खर्ब ४७ अर्ब ३३ करोड ६ लाख रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको ९२.५६ प्रतिशत हो।
राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेन। सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखे पनि १२ खर्ब ८० अर्ब ६५ करोड ३६ लाख रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ८३.५१ प्रतिशत हो।
यस्तै, वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएकोमा ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यो लक्ष्यको ५८.५० प्रतिशत हो।