नटिङहम । बेलायतको मिडल्यान्डस्थित नटिङहमको मेलवर्न पार्कमा सोमबार नेपाली कला, संस्कृति र मौलिक परम्पराले भरिभराउ बनेको छ। दुई हजारभन्दा बढी नेपालीको सहभागितामा चौथो मिडल्यान्ड नेपाली मेला सम्पन्न भएको हो।
नेपाली समाज नटिङहमले स्थानीय एक दर्जनभन्दा बढी नेपाली संघसंस्थाको सहकार्यमा आयोजना गरेको मेलामा नेपालबाट आएका चर्चित कलाकारको सांगीतिक प्रस्तुति, स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम, नौमती बाजा, भजन–कीर्तन, तीज गीत तथा नृत्यले नेपालीपनको झल्को दिएको थियो।
मेलाको उद्घाटन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारी र संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संयुक्त रूपमा गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले बेलायतमा नेपाली समुदायबीच एकता, सद्भाव र नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी वर्षदेखि मिडल्यान्ड नेपाली मेलासँग नेपाली दूतावासले थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायती तथा गैरनेपाली समुदायलाई पनि मेलामा जोड्नुपर्ने आवश्यकता औंल्याए।
नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारीले चार वर्षअघि सुरु भएको मेला प्रत्येक संस्करणसँगै थप व्यापक बन्दै गएको बताए। आगामी वर्षहरूमा मेलालाई अझ विस्तार गर्दै गैरनेपाली समुदायको सहभागिता समेत बढाउने लक्ष्य रहेको उनले जानकारी दिए।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनआरएनए अभियन्ता दयानिधि सापकोटा, साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयाँल, गुल्मी जिल्ला समाज यूकेकी अध्यक्ष मञ्जु भण्डारी, पूर्व मेयर तथा काउन्सिलर भीम सारु, नटिङहम महिला समूहकी अध्यक्ष विष्णु खरेललगायतले शुभकामना व्यक्त गरेका थिए।
मेलाको सांगीतिक कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकार विष्णु खत्री, रमेशराज भट्टराई, इन्द्र जिसी र अस्मिता डल्लाकोटीले प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरूको सहभागिताले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
मेलामा यूकेव्यापी भलिबल प्रतियोगिता, सेभेन ए साइड फुटबल, बालबालिकाको फुटबल, पार्क रन तथा अन्य मनोरञ्जनात्मक खेलहरू आयोजना गरिएको थियो। भलिबल प्रतियोगितामा ग्रीनवीच भलिबल परिवारले गल्कोट समाज यूकेलाई फाइनलमा पराजित गर्दै उपाधि जित्यो। विजेता टोलीले १,५०० पाउण्ड नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता गल्कोट समाज यूकेले ८०० पाउण्ड नगद पुरस्कार प्राप्त गर्यो।
सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक नटिङहम समाजको टोलीले जितेको थियो। विजेताले १,००० पाउण्ड नगद पुरस्कार प्राप्त गर्दा उपविजेता कोभेन्ट्री टोलीले ५०० पाउण्ड प्राप्त गरेको थियो। बालबालिकाका लागि फुटबल र विभिन्न उमेर समूहमा ५०० मिटर पार्क रन पनि आयोजना गरिएको थियो।
मेलास्थलमा नेपाली खाना, भेषभूषा, गरगहना तथा विभिन्न व्यापार र सेवासम्बन्धी एक दर्जनभन्दा बढी स्टल राखिएका थिए, जहाँ दिनभर दर्शकको उल्लेख्य भीड देखिएको थियो।
मेला अवलोकनका लागि मिडल्यान्ड क्षेत्रसँगै लन्डन, अल्डरसट, वेल्स र स्कटल्यान्डलगायत बेलायतका विभिन्न स्थानबाट नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।