सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार–लहान क्षेत्रमा कर्फ्यु जारी

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रबार बिहानदेखि सामान्य बन्दै गएको छ। यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी गरिएको कर्फ्यु अर्को सूचना नभएसम्म यथावत् रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा बिहानदेखि सवारीसाधन र सर्वसाधारणको चहलपहल न्यून रहेको छ। राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएका छन्। नेपाली सेनाले गोलबजारका विभिन्न गाउँबाट मुख्य सडकमा निस्कने बाटो तथा गल्लीहरूमा समेत निगरानी बढाएको छ।



पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। कर्फ्युको पालना गराउन सुरक्षाकर्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै सडकबाट फर्काइरहेका छन्। अत्यावश्यक काममा हिँडेकाहरूलाई भने सोधपुछपछि गन्तव्यतर्फ जान दिइएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अर्को सूचना जारी नभएसम्म गोलबजार–लहान क्षेत्रमा कर्फ्यु यथावत् रहने जानकारी दिए।

यता, कर्फ्यु लागू नभएको सिरहाको कसहा क्षेत्रमा भने केही प्रदर्शनकारी पुनः पूर्व–पश्चिम राजमार्गमा उत्रिएका छन्। उनीहरूले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले कसहामा केही समूहले प्रदर्शन सुरु गरेको जानकारी प्राप्त भएको बताउँदै उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र स्थानीय सरोकारवालासँग समन्वय गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।