राष्ट्र बैंकले एकैपटक ६ महिनाका लागि ८५ अर्ब तरलता उठाउने

  • प्रकाशित मिति : २०८३ भाद्र ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको चुनौती गहिरिँदैगर्दा नेपाल राष्ट्र बैंकले एकैपटक ६ महिना लामो अवधिका लागि ८५ अर्ब रुपैयाँ तरलता उठाउने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत केन्द्रीय बैंकले आज ८५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । बैंकहरूले घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।



३१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ८२ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा यसै अवधिमा ५९ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

समीक्षा अवधिमा ७१.२३ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंक तथा वित्तीय संस्थाहरूसँग १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ । तर, कर्जाको माग नै नहुँदा तरलता व्यवस्थापनको संकट निम्तिएको छ । यही संकटकाबीच केन्द्रीय बैंकले निक्षेप संकल बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।