बैंकहरूले सीएसआरको रकम औषधोपचार तथा राहतमा प्रयोग गर्न सक्ने

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

बैंक तथा वित्तीय संस्थाले समाजिक उत्तर दायित्व (सीएसआर)को रकम प्रकृतिक प्रकोप पीडितको औषधोपचार, राहत तथा उद्धारका लागि पनि प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ को पहिलो संशोधन गर्दै उपचार, राहत र उद्धारमा पनि प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले बुधबारको रसुवा बाढीलाई लक्षित गर्दै औषधोपचार, राहत र उद्धारमा पनि सीएसआरको रकम प्रयोग गर्न सक्ने व्यवस्था थप गरेको हो । बुधबारको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । बिहीबारसम्म ३५९ को शव भेटिएको छ भने सम्पर्कविहीन भएका सयौं छन् ।



मार्गदर्शनमा प्राकृतिक प्रकोप तथा महामारी पीडितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडालगायतका बन्दोबस्तीका सामग्री तथा पीडितको औषधोपचार, उद्वार/राहत कार्यमा हुने खर्चमा सीएसआरको रकम प्रयोग गर्न सक्ने व्यवस्था उल्लेख छ ।

मार्गदर्शनमा मानवीय सहयोग तथा राहत शीर्षकमा औषधोपचार पनि थप गरिएको केन्द्रीय बैंकले जनाएको छ । व्यावसायिक रुपमा स्थापना भएका बाहेकका सम्बन्धित सरकारी निकायबाट स्वीकृति/मान्यता लिई गरिब तथा विपन्न वर्गका नागरिकका लागि खोलिएका वृद्धाश्रम, बालगृह, मानव बेचविखनमा परेकालाई उद्धार गरी संरक्षण गर्ने संस्थालगायतका सामाजिक संस्थालाई गरिने सहयोग सीएसआर अन्तर्गत हुन्छ ।

त्यसैगरी गरिब, विपन्न तथा पिछडिएका समुदायमा भोकमरी, कुपोषण, अटिजम् भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्चलाई पनि सो शीर्षकबाट खर्च गर्न सकिन्छ ।