एजेन्सी। युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आज (शनिबार) बाट सुरु हुँदैछ। नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन्।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति पौने १० बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ।डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो। तर, अन्तिम खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो। वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो।
समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो। डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ। जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती पौने १ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। इटालीले ३ खेलमा ९ अंक जोडेको थियो।
शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो। अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको थियो। अष्ट्रिया भने समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो।
पहिलो पटक नकआउट चरणमा पुग्ने क्रममा अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो। तर, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो। अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो।
इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ। इटालीले अष्ट्रियासँग हार्नु परेको छैन। इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ।