सयौँ अर्ब डलरको लगानी, बढ्दो मानसिक स्वास्थ्य जोखिम र हजारौँ रोजगारी कटौती-यी सबै घटनाको पछाडि एउटै साझा कारण देखिन्छ : आर्टिफिसियल इन्टेलिजेन्स (एआई)।
कसैका लागि एआई भविष्यको आधार हो भने कसैका लागि सेयर बजारमा देखिने अर्को ‘बबल’ अर्थात् पानीको फोका। दशकौँसम्म पर्दा पछाडि सीमित रहेको एआई प्रविधि सन् २०२२ मा ओपनएआईले ‘च्याटजीपीटी’ सार्वजनिक गरेपछि एकाएक विश्वव्यापी चर्चाको केन्द्रमा आयो। त्यसपछि गुगलको जेमिनाई, च्याटजीपीटीजस्ता एआई च्याटबटहरूको विकासले गुगल सर्चदेखि इन्स्टाग्राम र अमेजनसम्मका डिजिटल सेवाहरूको स्वरूप नै बदल्न थालेको छ।
तर सन् २०२५ त्यो मोडको वर्ष बन्यो, जतिखेर एआई केवल स्क्रिनभित्र सीमित रहेन। यसले राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध र सेयर बजारमा गहिरो प्रभाव पार्न थाल्यो। यससँगै हाम्रो रोजगारी, कक्षाकोठा र मानवीय सम्बन्धहरूमा एआई कत्तिको भरपर्दो छ भन्ने गम्भीर प्रश्नहरू उठेका छन्। यही क्रम सन् २०२६ मा पनि निरन्तर रहने अपेक्षा गरिएको छ।
स्ट्यानफोर्ड इन्स्टिच्युट फर ह्युमन–सेन्टर्ड एआईका सह–निर्देशक जेम्स ल्यान्डे भन्छन्, “अघिल्ला वर्षहरूमा एआई एउटा चम्किलो नयाँ खेलौनाजस्तै थियो। तर पछिल्लो वर्ष यसको प्रयोग धेरै गम्भीर र प्रभावशाली भयो। अब मानिसहरूले यसको फाइदा र जोखिम दुवै बुझ्न थालेका छन्।”
नियमन र मानसिक स्वास्थ्यको बहस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एआईका खुलेर समर्थक मानिन्छन्। उनको दोस्रो कार्यकालमा एआई अमेरिकी नीतिको प्रमुख आधारस्तम्भ बनेको छ। चिप निर्माता कम्पनी एनभिडियाका सीईओ ट्रम्पको नजिकको घेरामा रहेका छन् भने चीनसँगको व्यापार युद्धमा एआई प्रोसेसरलाई रणनीतिक हतियारझैँ प्रयोग गरिएको छ।
ट्रम्प प्रशासनले एआईसम्बन्धी नियमन खुकुलो बनाउने र सरकारी संयन्त्रमा यसको प्रयोग विस्तार गर्ने योजना अघि सारेको छ। तर, राज्यहरूलाई आफ्नै एआई नियम लागू गर्न नदिने कार्यकारी आदेशले विवाद चर्काएको छ। सिलिकन भ्यालीका लागि यो सकारात्मक देखिए पनि अनलाइन सुरक्षा र मानव अधिकारका पक्षधरहरूले जोखिम बढ्ने चेतावनी दिएका छन्। सन् २०२६ मा यस विषयमा कानुनी संघर्ष अझ चर्किने अनुमान गरिएको छ।
यसैबीच, कमजोर नियमनकै कारण एआईले मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न थालेको आरोप लागेको छ। च्याटजीपीटी र क्यारेक्टर डट एआईजस्ता प्लेटफर्मका कारण किशोरकिशोरीमा मानसिक समस्या र आत्महत्यासम्बन्धी घटना बढेको भन्दै विभिन्न मुद्दा दर्ता भएका छन्।
एक १६ वर्षीय किशोर एडम रेनले आत्महत्या गर्नुअघि च्याटजीपीटीसँग गरेको संवादले उनलाई प्रोत्साहन गरेको दाबी गर्दै उनका अभिभावकले ओपनएआईविरुद्ध मुद्दा दायर गरेका थिए। त्यसपछि कम्पनीहरूले ‘प्यारेन्टल कन्ट्रोल’ जस्ता सुरक्षा उपायहरू लागू गर्न थालेका छन्। तर समस्या किशोरकिशोरीमा मात्र सीमित छैन। वयस्कहरू पनि एआईसँगको संवादलाई वास्तविकताजस्तै मान्न थालेपछि सामाजिक एक्लोपन र भ्रम बढ्दै गएको विज्ञहरूको भनाइ छ।
मनोचिकित्सक मार्लिन वेईका अनुसार, “मानिसहरू भावनात्मक सहयोगका लागि पहिलो विकल्पकै रूपमा एआई च्याटबटतर्फ आकर्षित भइरहेका छन्, जसले भविष्यमा मानसिक स्वास्थ्य जोखिम झनै गहिर्याउन सक्छ।”
‘बबल’ बन्ने डर
एआई र डाटा सेन्टर पूर्वाधारमा अर्बौँ डलर लगानी भइरहेको छ। मेटा, माइक्रोसफ्ट र अमेजनजस्ता प्रविधि कम्पनीहरूले यस क्षेत्रमा ठूलो पुँजी खर्च गरिरहेका छन्। म्याकिन्जी एन्ड कम्पनीको अनुमानअनुसार सन् २०३० सम्म विश्वभर डाटा सेन्टरमा करिब ७ ट्रिलियन डलर लगानी हुनेछ।
यति ठूलो खर्चले वाल स्ट्रिटदेखि उपभोक्तासम्म चिन्ता बढाएको छ। कतिपय कम्पनीको सेयर मूल्य आकासिए पनि एआईको वास्तविक उपयोगभन्दा प्रचार र लगानी अत्यधिक भएको आशंका गरिएको छ।
बेन क्यापिटलकी क्रिस्टिना मेलास–किरियाजी भन्छिन्, “नयाँ प्रविधिमा सुरुमा अत्यधिक लगानी हुनु सामान्य हो। तर कुनै बिन्दुमा बजारमा ‘करेक्सन’ अवश्य आउँछ।” उनका अनुसार सन् २०२६ मा लगानीकर्ताहरू एआईसँग जोडिएको उतारचढावका लागि मानसिक रूपमा तयार रहनुपर्नेछ।
रोजगारीमा ठुलो परिवर्तन
सन् २०२५ मा एआईका कारण प्रविधि क्षेत्रमा हजारौँ कर्मचारीले रोजगारी गुमाए। माइक्रोसफ्ट, अमेजन र मेटाले एआईलाई प्राथमिकतामा राख्दै व्यापक कर्मचारी कटौती गरे। अमेजनले मात्र अक्टोबर महिनामा १४ हजार कर्पोरेट कर्मचारीलाई बिदा गरेको थियो।
कतिपय विश्लेषक एआईले अझै धेरै रोजगारी विस्थापित गर्ने चेतावनी दिन्छन् भने केहीले नयाँ किसिमका अवसर सिर्जना हुने तर्क गर्छन्। तर परिवर्तन अवश्यंभावी भएकोमा सबै सहमत देखिन्छन्।
लिंक्डइनका प्रधान सम्पादक ड्यान रोथ भन्छन्, “यस वर्ष हामीले स्पष्ट देख्यौं—जागिर पाउन आवश्यक सीपको स्वरूप नै बदलिसकेको छ। र, आउने वर्ष यो परिवर्तनको गति झनै तीव्र हुनेछ।”