एप्पल र गुगलद्वारा बेलायतमा एप स्टोरका नियमहरूमा परिवर्तन गर्ने सहमति

  • प्रकाशित मिति : २०८२ माघ २८, बुधबार
  • नेपाल टेल संवाददाता

लन्डन। बेलायतमा एप्पल र गुगलले एप स्टोरका नियमहरूमा परिवर्तन गर्ने सहमति जनाएको बीबीसीले जनाएको छ। बेलायतको प्रतिस्पर्धा नियामक निकाय कम्पिटिशन एण्ड मार्केट्स अथोरिटी (सीएमए) को निर्देशनपश्चात्, प्रविधि क्षेत्रका ठूला कम्पनी एप्पल र गुगलले आफ्ना एप स्टोर सञ्चालन गर्ने तौरतरिकामा महत्त्वपूर्ण सुधार गर्ने सहमति जनाएका छन्।

नियामकले यी दुई कम्पनीको बजारमा ‘एकाधिकार’ रहेको ठहर गरेपछि उनीहरूले आफ्ना एपहरूलाई मात्र दिँदै आएको प्राथमिकता हटाउने र अन्य डेभलपरहरूका लागि पारदर्शी नियम लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।



नयाँ सहमति अनुसार, एप्पल र गुगलले अब अन्य एप डेभलपरहरूको डाटालाई अनुचित तरिकाले प्रयोग गर्न पाउने छैनन्। साथै, एप स्वीकृत गर्ने प्रक्रियालाई थप स्पष्ट बनाउनुपर्नेछ। बेलायतको डिजिटल अर्थतन्त्रमा सुधार ल्याउन र साना डेभलपरहरूलाई प्रतिस्पर्धा गर्ने समान अवसर प्रदान गर्न यो कदम चालिएको हो।

सीएमएकी प्रमुख सारा कार्डेलले यो परिवर्तनले बेलायती एप बजारलाई थप मजबुत बनाउने र उपभोक्तालाई धेरै विकल्पहरू उपलब्ध गराउने विश्वास व्यक्त गरेकी छिन्।

बेलायतको एप अर्थतन्त्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १.५ प्रतिशत योगदान पुर्‍याउनुका साथै करिब ४ लाख रोजगारी सिर्जना गरेको छ। यद्यपि, एप्पल र गुगलले भने यस्ता कडा नियमहरूले प्रविधि क्षेत्रमा हुने नयाँ आविष्कार र प्रयोगकर्ताको सुरक्षामा असर पर्न सक्ने चेतावनी दिँदै आएका थिए।

तर, बेलायती नियामकले अक्टोबर २०२५ मै यी कम्पनीहरूलाई ‘रणनीतिक बजार स्थिति’ भएको घोषणा गर्दै प्रतिस्पर्धा प्रवर्द्धनका लागि परिवर्तन आवश्यक रहेको अडान लिएको थियो।