राजीनामाकाे विषयमा गभर्नर पौडेलको प्रष्टीकरण- ‘पद अस्थायी हो, आवश्यकताभन्दा बढी आशक्ति राख्नु हुँदैन’

  • प्रकाशित मिति : २०८२ चैत्र १२, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो राजीनामाका बारेमा चलिरहेका चर्चा र हल्लाहरूलाई व्यङ्ग्यात्मक शैलीमा जवाफ दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र राष्ट्र बैंकले आयोजना गरेको बैङ्किङ ट्रेनिङ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अहिलेसम्म कसैले राजीनामा दिनु भनेर नभनेको बताए ।

उनले भने, ‘मलाई के लाग्छ भने व्यक्ति हुनु र नहुनुसँग धेरै कन्सर्न (चासो) राख्नु पर्दैन । पदहरू सबै अस्थायी नै हुन् । म यहीँ बसेर जिन्दगी बिताउँछु भनेर आउने चिज पनि होइन ।’ गभर्नर पौडेलले हरेक पदको आउने र जाने समय निश्चित हुने बताउँदै पदप्रति धेरै आशक्ति राख्न नहुने तर्क गरे ।



उनले थपे, ‘कुनै पनि कुरामा आवश्यकताभन्दा बढी आशक्ति राख्नु हुँदैन । मलाई जिम्मेवारी प्राप्त भयो, यो एउटा तथ्य हो ।’

‘मिडियामा मात्रै लेखेको देखेको छु, कसैले मलाई राजीनामा दिन्छौ कि दिँदैनौ भनेर सोधेको पनि छैन र हामी आयौँ भनेर कसैले भनेको पनि छैन’ उनले भने ।

उनले आफू सार्वजनिक पदमा बसेको हुनाले मानिसहरूको जिज्ञासा र मिडियाको चर्चालाई स्वाभाविक रूपमा लिएको बताउँदै आफ्नो कार्यकाल र जिम्मेवारीप्रति आफू सचेत रहेको बताए।