काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारवाही गरेको छ।
विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टिल्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई आज कारवाही गरेको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए।
विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो।
जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ।
निर्धारित गुणस्तर नपाइएको भन्दै विभागले कारबाही स्वरुप जगदम्बा स्टिल्सको १६ एमएम छडको इजाजत स्थगित गरिएको जानकारी दिएको छ।
जगदम्बाको १६ एमएम टिएमटी छडमा इजाजत स्थगन गर्दै ३ सय टन उत्पादित छडलाई बिक्री वितरणमा समेत रोक लगाइएको छ।
जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ।
यस्तै मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ।
विभागले जगदम्बा स्टिल्सको बिक्रीवितरणमा रोक लगाउनाका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ।