भगवान शिवलाई ‘फलहारी’ भनिन्छ । भगवान शिवलाई मनपर्ने आहारकै रुपमा बेलको पात, धतुरोको फूल, भाङ आदि चढाइन्छ । यस्तै, दूध, दही, घिउ, सख्खर, मह आदि पनि भगवान शिवको पूजाका दौरान चढाइने गरिन्छ ।
तर, के तपाईंलाई थाहा छ– भगवान शिवले मासु पनि खाएका थिए ! धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको कथालाई आधार मान्दा भगवान शिवले एक पटक मासुको आहार ग्रहण गरेका थिए ।
एक सिकारी जंगलमा सिकार गर्न गएका थिए । जंगलमा उनले शिवलिङ्ग देखे शिवलिंग बेलपत्र र फुलले श्रृगारीएको थियो ।
उनले सोचे शिवलिंगलाई कसैले त सुरक्षा दिनुपर्छ । उनी केही बेर बसे तर साँझ हुँदा पनि शिवलिङ्गको सुरक्षाका लागि कोही पनि त्यहाँ आएनन् ।
जंगलमा कोही पनि नआए पछि सिकारीलाई शिवको चिन्ता लाग्यो । शिवलाई रातमा एक्लै जंगलमा छाड्यो भने कुनै जंगली जनावरले हमला गर्ला भनेर उनी धनुषमा वाण चढाएर शिवको रक्षाका लागि बसे ।
उनले रातभरि शिवको सुरक्षा गरे । विहान हुँदा सिकारीलाई भोक लाग्यो । सिकार गरेरै भोजन लिने सिकारीले आफूलाई जस्तै भगवान शिवलाई पनि भोक लागेको होला भन्ने ठाने ।
त्यसपछि उनले एक पंक्षी मारेर शिवलाई चढाइदिए । अर्को दिन पनि उनले शिवलाई त्यहाँ एक्लै देखे । त्यो दिन पनि उनले रातभरि शिवको सुरक्षा गरे र बिहान उठेर सिकार खेल्न गए ।
यस्तो क्रम तीन दिनसम्म चल्यो । तेस्रो दिन बिहान एक पूजारी (ब्राह्मण) शिव लिंगको पूजा गर्न भनेर जंगल पुगे ।
जंगलमा पुग्दा उनले शिवलिङ्ग नजिकै तीर चढाइएको वाण देखे । कसले यस्तो गरेको होला भन्ने कौतुहलताका बीच उनले रुखको पछाडि लुकेर त्यहाँका सबै गतिविधि हेरे ।
सिकारीले तेस्रो दिन पनि एउटा पंक्षी मारेर शिवलिङ्गमा चढाइदिए । शिवलाई मासु चढाएर सिकारी सिकार खेल्न निस्किन लागेका थिए– ब्राह्मणले उनलाई गाली गर्न थाले ।
‘कस्तो पापी होला, शिवलाई मासु चढाएर अपवित्र तुल्याउने ?’ ब्राह्मणले गाली गर्न थाले ।
सिकारीले अघिल्ला दुई दिनका सबै घटना ब्राह्मणलाई सुनाए ।
‘सिङ्गो ब्रह्माण्डको रक्षा गर्ने महादेवलाई तिम्रो सुरक्षाको आवश्यकता पर्दैन्’ भन्दै ब्राह्मण झन रिसाउन थाले ।
सिकारी उल्टै ब्राह्मणमाथि कराउन थाले, ‘अबदेखि तिमिले शिवलाई एक्लै छाड्नै हैन । शिवलाई एक्लै छाडे मैले तिम्रो प्राण लिनेछु ।’
आफ्नो कुराको खण्डन गरेको तथा प्राण लिने धम्की दिएको भन्दै आक्रोशित बनेका ब्राह्मणले सिकारीलाई दण्ड दिने तयारी गरे ।
त्यत्तिकैमा भगवान शिव स्वयं त्यहाँ प्रकट भए । भगवान शिवले सिकारीलाई अंगालो हाले । र, सिकारीले चढाएको मासु पनि भोजनका रुपमा स्वीकार गरे ।
सिकारीका लागि महादेव स्वयं प्रकट भएको देखेपछि ब्राह्मण आश्चर्यमा परे । ‘महादेव म यत्रो वर्षदेखि विधिपूर्वक तपाईंको पूजा गरिरहेको छु । तर, कहिल्यै दर्शन दिनुभएन । ३ दिन तपाईंको सुरक्षाका नाममा मासु चढाएर अपवित्र बनाउने सिकारीलाई तपाईंले माया गर्नुभयो, किन ?’ भनेर ब्राह्मणले शिवलाई प्रश्न गरे ।
महादेवले ब्राह्मणलाई भने, ‘तिमीले मेरो पूजा गरेपछि फलको आशा राख्छौ, तर सिकारीले मेरो निस्वार्थ भावले सेवा गर्यो । यसले मलाई अपवित्र बनाएन यसलाई प्रियजनको सेवा यसरी नै गर्न आउँछ । यो त भावको भोको हो । उसले जुन भावको तृप्ति मलाई दिएको छ, त्यो फलफूलमा पाइँदैन ।’