राष्ट्रपतिदेखि देउवासम्म : दशैँको अवसरमा कसले के भने ?

  • प्रकाशित मिति : २०७७ कार्तिक १०, सोमबार
  • nepaltale.com

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेकी हुन्।

“आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गरेकी छन् ।

विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ । असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।

पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका छन् । विजय दशमीका अवसरमा आज शुभकामना दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

देशमा कोरोनाको सङ्क्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा सङ्क्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपतिले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् ।

दशैँका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिनु भएका स्वास्थ्य र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उनले पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका सङ्क्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा व्यक्त गरेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्यवस्था गम्भीर बनेका कतिपय सङ्क्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्यवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनले तीनै तहका सरकार र आमनागरिकको प्रयासले कोरोना भाइरस नियन्त्रणमा आउने र आगामी चाडपर्व विगत वर्षमा जस्तै उल्लासमय वातावरणमा मनाउन पाउने अवस्थाको अपेक्षासमेत गर्नुभएको छ ।

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन् । चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताएका छन् ।

अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन् ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउन उनले सबैमा आग्रह गरेका छन् ।

यसपालिको बडादशैंँ, हामी जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर मनाउन प्रधानमन्त्रीले सबैसँग विनम्र अनुरोध गरेका छन् । सङ्क्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गरेका हुन् ।

कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै उनले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याएको बताएका छन् ।

सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन् । उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरेका छन् । विजयादशमीका अवसरमा सभापति देउवाले आफू र काँग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।