रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेट, के भयो कुराकानी ?

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

भारत भ्रमणमा रहेका रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।



भेटमा गृहमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई निर्वाचनमा प्राप्त अभूतपूर्व सफलता तथा ऐतिहासिक विजयका लागि बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको बताइएको छ।

त्यस अवसरमा दुवै नेताले नेपाल र भारतबीचको विशेष तथा ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ, विश्वासपूर्ण र परिणाममुखी बनाउँदै अघि बढ्न सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका क्रममा लामिछानेले शाहलाई नेपाली धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रुद्राक्षको माला तथा अष्ट चिरञ्जीवीको प्रतिमा उपहारस्वरूप प्रदान गरेका थिए।

यसअघि आजै लामिछानेसहितको टोलीले भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा पुगेर पार्टी अध्यक्षसँग समेत भेटघाट गरेको थियो।

भाजपा मुख्यालयमा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई पुष्पवृष्टिसहित भव्य स्वागत गरिएको जनाइएको छ। भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक शक्तिबीचको संवाद विस्तारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।