काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक विवादलाई लिएर व्यक्तिगत चालीचलौज र आरोप–प्रत्यारोपको रुप नदिन अपिल गरेका छन् ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै प्रवक्ता श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भइ स्वस्थ्य एवम रुपान्तरणमुखी छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्– सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर त्यसमा अन्तर्निहीत एउटा पक्ष ,अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं । पार्टी भित्रको छलफल्,बहश र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप–प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैं व्यक्तिगत झगडा तथा गालीगलौच पनि नगरौं ।
नेता श्रेष्ठले पार्टी एकताको रक्षा गर्नुपर्ने अपिल गर्दै भनेका छन्, ‘पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भ्रष्ट पूँजीवादी पार्टी बन्न पनि नदिऔं ।’