काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद विभाजनसम्म पुग्ने आशंका व्यक्त भइरहेको छ ।
पार्टीका दुई अध्यक्षमा देखिएको चरम असमझदारीको शिकार नेकपा हुन लागेको भन्दै कार्यकर्तामा निराशा छाएको छ ।
मन्त्रिपरिषद् विस्तार, राजदूतहरुको नियुक्ति, भारतीय जासूसी संस्थाका प्रमुख सामन्त गोयलसँगको भेटवार्ता, कर्णाली प्रदेशमा देखिएको समस्या लगायका विषयले नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।
यसैबीच प्रधानन्त्रीसमेत रहेका केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमतिमै पार्टी फुटाउँ भन्ने प्रस्ताव राखेको ब्रिफिङ उनले झलनाथ खनाल माधवकुमार नेपाललगायतका सचिवालयका नेताहरुसँग राखेका थिए ।
जसको पुष्टि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरिसकेका छन् ।
नेकपामा देखिएको पछिल्लो विवादले पार्टी फुट्ने संशय नेकपाका नेता कार्याकर्तामा रहेको छ ।
के भन्छ कानून ?
विवाद उग्र बनिरहँदा नेकपाभित्र बहुमतको खेल सुरु भएको छ । दुबै अध्यक्ष आफू तर्फ बहुमत पुराउनका लागि कसरत गरिरहेका छन् ।
दुबै पक्ष अहिले केन्द्रीय समिति र संसदीय दलमा बहुमतका लागि जोड घटाउ गरिरहेका छन् ।
विद्यमान कानुनी व्यवस्थाअनुसार दल फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत मत चाहिन्छ । जसले बहुमत र्पुयाउँछ उसले पार्टीको नाम, छाप, झण्डा, चुनाव चिह्न पाउने भएकोले पनि दुवै पक्ष आन्तरिक रूपमा यस्तो हिसाबमिलानमा लागेका हुन् ।
दुवै पक्ष चुनाव चिह्न सूर्य र पार्टीको नाम नेकपा आफ्नो पक्षमा होस् भन्ने चाहन्छन् । चुनाव चिह्न, छाप, पार्टीको नाममा विवाद भएमा समेत केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशतका हस्ताक्षर चाहिन्छ ।
राजीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ३३ को उपदफा २ मा भनिएको छ, ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’
संसदीय दलमा कसको कति ?
नेकपामा सभामुखसहित १ सय ७४ जना सांंसद छन् । जसमध्ये सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएको र समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले १ सय ७२ जना छन् ।
तीमध्ये पूर्वएमाले समूहबाट १ सय २१ र पूर्वमाओवादी समूहबाट ५३ जना सांसद छन् । यसका आधारमा संसदीय दलमा बहुमतका लागि जम्माजम्मी ८७ जना सांसद भए पुग्छ ।
पूर्वएमालेका १ सय २१ मध्ये प्रधानमन्त्री ओलीको साथमा ७८ जना सांसद रहेको दाबी छ ।
पूर्वएमाले समूहमा नेता नेपाल पक्षमा ४२ जना सांसद रहेको दाबी छ ।
त्यस्तै पूर्वमाओवादी अर्थात् प्रचण्ड समूहमा ५३ जना सांसद छन् । यस हिसाबमा प्रचण्ड माधव नेपाल समूहमा ९५ जना सांसद हुन्छ र बहुमत सहजै पुग्ने देखिन्छ तर, पूर्वमाओवादीका केही संख्या ओली समूहमा जाँदा पनि बहुमतका लागि आवश्यक ८७ सिट र्पुयाउन सकिने आँकलनमा प्रचण्ड नेपाल पक्षमा देखिए पनि पछिल्ला दिनमा ओलीको देखिने बढ्ता आत्मविश्वासले संसदीय दलमा बहुमत र्पुयाउन सक्ने अवस्थामा रहेको अनुमान गरिएको छ ।