दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

  • प्रकाशित मिति : २०७७ बैशाख १२, शुक्रबार
  • nepaltale.com

काठमाडौं, बैशाख १२। सरकारले हालै ल्याएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुबै अध्यादेश फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजनका लागि प्रावधान खुकुलो हुने गरी दल त्याग सम्बन्धी र संवैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थितिबिना नै निर्णय गर्न सक्ने गरी परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो। ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो।

राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत सरकार हिँड्न खोजेको भन्दै नेकपाभित्र र बाहिर चर्को विरोध हुँदै आएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ।