काठमाडौं । सरकारले गत सोमबार जारी गरेका दुई अध्यादेश मन्त्रिपरिषद्बाट फिर्ता गर्ने निर्णय गरेको सार्वजनिक हुनेबित्तिकै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा कटाक्ष गर्नुभएको छ।
जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले अध्यादेश फिर्ता लिएको प्रसंग उल्लेख गर्दै ट्वीटमा लेख्नुभएको छ, ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्।’
समाजवादी पार्टीलाई फुटाउन प्रधानमन्त्रीले गम्भीर अपराध गरेको भन्दै भट्टराईले त्यसको छानविन गरी कार्बाही गर्नुपर्ने उल्लेख गर्नुभएको छ। साथै उहाँले प्रधानमन्त्री ओली कुर्सीमा रहुञ्जेल लोकतन्त्रमाथि खतरा भइरहने भन्दै सबैलाई सावधान हुन अपील समेत गर्नुभएको छ।
समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!
— Baburam Bhattarai (@brb1954) April 24, 2020
गत सोमबार सरकारले पार्टी विभाजनको प्रावधान खुकुलो हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्को नियुक्ति विपक्षी दलको नेताको उपस्थिति बिना गर्न मिल्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो।
मन्त्रिपरिषद्ले निर्णय गरेको केही घण्टामै राष्ट्रपतिबाट प्रमाणित गरिएका दुई अध्यादेश सोही दिन बेलुकी राजपत्रमा प्रकाशित गरिएको थियो।
अध्यादेशको पार्टी भित्रै र बाहिर चौतर्फी आलोचना भएपछि आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको बताइएको छ। सरकारले औपचारिक रुपमा भने अझैं बैठकका निर्णय सार्वजनिक गरेको छैन।