आज तिहारको अन्तिम दिन भाइटीका, ११:३७ बजे छ उत्तम साइत

  • प्रकाशित मिति : २०७७ मंसिर १, सोमबार
  • nepaltale.com

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज (सोमबार) भाइटीका मनाईंदै छ ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँछन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउँछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताउँछन् ।

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

‘भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो,’ समितिका अध्यक्ष प्रा.डा गौतमले भने ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

आज (भाइटीका) लगाउनुपूर्व लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरिन्छ । त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिन्छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

पौराणिक कथनअनुसार नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र भाइटीकाको सम्बन्ध मृत्युका राज यमराज र उनकी बहिनी यमुनासँग जोडिन्छ ।

परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा आएक थिए । त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमराज यमुना कहाँ बसे । यमपञ्चकको पाँचौं दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि तिहार मनाउन थालिएको मानिन्छ ।


तस्वीर– प्रतिकात्मक