कोरोनाको महामारीका बाबजुद सरकारले समृद्धिको यात्रालाई अगाडि बढाइरहेको छ– प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : 2020-11-16
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९)को महामारीका बाबजुद सरकारले मुलुकको विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेको बताएका छन् ।

कोभिडको महामारीले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको पनि प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।



नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तीका लागि एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले तिहारको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन पनि आह्वान गरेका छन् ।