के छ नेपालमा कोरोनाको अवस्था ? जनस्वास्थ्यविज्ञ डा. पाण्डेले औंल्याए यस्ता कुरा

  • प्रकाशित मिति : 2020-12-01
  • nepaltale.com

परीक्षणको दायरा घटेको छ । अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने धेरै छन् ।

– कन्ट्याक्ट ट्रेसिङ्ग एकदम न्यून छ ।



– लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसँग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् । यो समुह ठूलो संख्यामा छ र जोखिममा छ ।

– एन्टीजेन किट तथा एन्टिबडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन सकिन्थ्यो । यसमा सरकार उदासिन देखिएको छ । दशैंअघि गर्ने भनिएको सेरोप्रिभ्यालेंस टेस्ट अहिले विस्मृतिमा परिसकेको छ ।

– क्वारेन्टिन खाली छन्, आइसोलेसन केन्द्र खाली छन् । यसको अर्थ हुन्छ, त्यहाँ खानपिन, न्यानो, सरसफाई, बाथरुम आदि राम्रो छैन । त्यहाँ बस्यो भने दुख पाइन्छ भन्ने आम मानसिकता छ । आइसोलेसन केन्द्र खाली हुनु राम्रो इन्डिकेटर हैन ।

– अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । उनीहरुलाई सरकारी स्तरबाट अनुगमन, निगरानी, परामर्श आदिको व्यवस्था छैन । अन्दाजको भरमा फार्मेसीबाट औषधि किनेर खाने, निको भएका संक्रमितले भनेको औषधि खाने तथा आफ्नो अवस्था थाहा नपाउने स्थिति छ ।

– १/ २ वटा कोठामा बस्ने संक्रमित आइसोलेसन केन्द्रमा नबस्ने तथा जेनतेन त्यहीं एड्जस्ट हुने स्थिति छ ।

– हजारौं संक्रमितले आफू संक्रमित भएको तथ्य लुकाउने अवस्था तथा बाध्यता छ । संक्रमित भएमा रोजगार जाने, घरबेटीले बस्न नदिने लगायतको कारण उनीहरु सार्वजनिक यातायात, पसल, बजार, कार्यस्थल आदि ठाउँमा आवतजावत गरिरहेका छन् ।

– संसारमा नेपाल एकमात्र यस्तो देश हो जहाँ मास्क अनिबार्य छैन, दुरीको अनुगमन कसैले गर्दैन तथा भीड नियन्त्रण कसैले गर्दैन ।

– अस्पतालका जनरल वार्ड खाली हुने तर आइसीयु / भेन्टिलेटर प्याक हुनुको अर्थ निकै चिन्ताको बिषय हो । संक्रमितहरु निमोनिया भएर वा सास फेर्न नसक्ने भएपछि मात्र अस्पताल जाने प्रचलन देखिएको छ । जसले गर्दा संक्रमितलाई सिधै आइसीयु / भेन्टिलेटरको आवश्यक पर्छ ।

– मृतकको संख्या बढिरहेको छ । अहिले देखाइएको मृत्युको तथ्यांक अस्पतालमा मृत्यु भएका संक्रमितको मात्रा हो । होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको पिसिआर टेस्ट गरिएको छैन । गाउँगाउँमा भएका मृत्युको अभिलेख छैन ।

– विश्वका विभिन्न देशमा फैलिएको दोस्रो लहर नेपालमा पनि आयो भने अवस्था कठिन बन्न सक्छ । त्यसैले आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा कुनै व्यक्तिलाई नभेट्ने तथा हात सफा गरिरहने गर्नुपर्दछ ।

– जाडो याममा बालबालिका, बृद्धबृद्धा तथा दीर्घबिरामी सधै जोखिममा रहन्छन् । यो समुह कम्तिमा ३ महिना घरबाहिर निस्किनु हुँदैन । जोखिम बर्गले प्रदुषण बढेको बेला मार्निङवाक गर्नु हुँदैन । इन्फ्लुएन्जाको खोप सबैले लगाउँदा राम्रो हुन्छ । ६५ बर्ष पार गरेका वा दीर्घरोग भएका व्यक्तिले निमोनियाको खोप लगाउनु सुरक्षित हुन्छ ।

– सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइ गर्ने, ब्यापक अनुगमन र निगरानी गर्ने तथा जरिवानाको व्यवस्था गर्नुपर्छ । महामारीको समयमा सरकारको १०० % ध्यान महामारी नियन्त्रणमा हुनुपर्दछ ।

– विश्व बजारमा खोप आउन लामो समय लाग्दैन । यो जाडो मौसम बितेपछि हामीले पनि क्रमशः खोप पाउने छौं । खोप आएपनि एकैपटक नआउने भएकोले जनस्वास्थ्यका मापदण्डलाई आफ्नो जीवनशैली बनाउनु पर्दछ । सम्पूर्ण नेपालीलाई पुग्ने गरि खोप आउन २०२१ को पुरै बर्ष लाग्छ ।

तसर्थ सरकार र नागरिकको जोड जनस्वास्थ्यका मापदण्ड पालना गर्ने / गराउने हुनुपर्दछ ।

– डा. पाण्डेको फेसबूकबाट