‘डुबे सँगै डुब्छौँ, उठे सँगै उठ्छौँ’ -भीष्मराज आङ्देम्बे

  • प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार
  • भीष्मराज आङ्देम्बे

प्रतिनिधिसभाको यो पहिलो बैठकमार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौँ। हामीले आज सुरुवातकै दिन सङ्कल्प गर्नु छ— हामी नागरिकमा नयाँ आशा र नयाँ विश्वास जगाउन सकौँ। यो घडीमा म आह्वान गर्दछु— सबैले ऐक्यबद्ध भएर २००७ सालको क्रान्तिदेखि पछिल्लो जेन–जी विद्रोहसम्ममा जीवन गुमाएका सबै सहिदलाई स्मरण गरौँ।

२०४६ को जनआन्दोलन, दस वर्ष लामो सशस्त्र विद्रोह, २०६२/०६३ को जनआन्दोलन, मधेस आन्दोलन, थरुहट अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र त्यस क्रममा भएका कयौँको सहादतलाई आज एकमुस्ट स्मरण गरौँ। हामी एकै थलोमा भएर पनि भिन्नभिन्न आस्था र विचार बोकेर यहाँ छौँ, तर भिन्न रहे पनि एउटै नौकामा छौँ। डुबे सबै डुब्छौँ, सँगै डुब्छौँ; उठे सबै उठ्छौँ, सँगै उठ्छौँ। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने सङ्कल्प गरौँ, अनि सङ्कल्प गरौँ— अब फेरि कसैले रगत बगाउनु नपरोस्।



संसदीय प्रणाली : सबैको साझा बाटो
फागुन २१ को निर्वाचनमा उत्साहसाथ ठूलो सङ्ख्यामा सहभागी भएर समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। बीपी कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपटक फेरि अनुमोदित भएको छ।

कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्‍यो, आज राजतन्त्रका पक्षमा रहेका मित्रहरू पनि यही संसद्‌मा अट्नुभएको छ। कुनै बेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्ने ऐलान गरेको माओवादी पार्टीका मित्रहरू पनि आज यही संसद्‌मा शान्त, भद्र र भलाद्मी भएर बस्नुभएको छ। कुनै बेला कांग्रेसले अपनाएको बाटोका विपक्षमा खरो उभिएर ‘अब दलहरूबाट देश चल्दैन’ भन्ने मित्रहरू पनि नयाँ दल खोलेर, सबैभन्दा ठूलो दल बनेर यहाँ उपस्थित हुनुहुन्छ।

रूखको साझा छहारीजस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु। नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बने पनि, पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र अझ सफल बनेको छ। यो घडी कांग्रेस पार्टीका प्रत्येक सदस्यले विशेष सन्तोष व्यक्त गर्न मिल्ने घडी हो, म यतिबेला ती प्रत्येक आदरणीय साथीलाई यो रोस्ट्रममा उभिएर स्मरण गर्न चाहन्छु।

सबैलाई बधाई र शुभकामना
नेपाली कांग्रेस ‘निरन्तरतामा नवीनता’ भन्ने दृष्टिकोण राख्दछ। त्यसैले हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो, कि त अरूले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्‍यायो। त्यस हिसाबले कांग्रेस ‘जेन–जी’ विद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलका रूपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध छ।

परिवर्तनको स्वर र भावनालाई आत्मसात् गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु। बीपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाजअनुरूपको रूपान्तरणमा प्रवेश गरेको छ।

तर, छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पङ्क्तिमा पुर्‍याउन सकिएन। आगामी दिनमा आफूभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र व्यवहारलाई देशमा भएको परिवर्तनअनुरूप रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलका रूपमा हामी प्रस्ट छौँ।

अतः यो घडी पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्व, नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि म नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट पनि शुभकामना दिन चाहन्छु। फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै दलका प्रत्येक माननीय सदस्यलाई पनि म यो घडीमा बधाई ज्ञापन गर्दछु।

आशालाई विश्वासमा बदलौँ
यो संसद्‌ले एक ढिक्का रहेर गर्नुपर्ने एउटा प्रधान काम भनेको नागरिक पङ्क्तिमा आशा र विश्वासलाई निरन्तर जगाउने र निरन्तर जोगाउने हो। बितेको ३५ वर्षमा देशमा केही पनि भएन भन्ने निराशाको भाष्य जनजनमा पुगेको छ। यसलाई हामीले चिर्न सक्नुपर्छ।

बितेको ३५ वर्षको अवधिलाई यसो फर्केर हेरौँ त—

• दस वर्ष लामो सशस्त्र द्वन्द्व यही अवधिमा भयो। हजारौँको मृत्यु भयो र अर्बौँको ध्वंस भयो।

• राजाले निर्वाचित सरकार भङ्ग गरेर यही अवधिमा निरङ्कुश सत्ता चलाए।

• यही अवधिमा देशले दुई–दुईपटक विनाशकारी भूकम्पको सामना गर्‍यो। हजारौँको मृत्यु भयो, अनि अर्बौँको क्षति भयो।

• यही अवधिमा विश्वव्यापी कोरोना महामारीबाट हाम्रो देश पनि ग्रस्त भयो, त्यसले हाम्रा हजारौँ आफन्तको मृत्यु भयो अनि मुलुकको अर्थतन्त्र पनि जोखिममा पुग्यो।

यस्ता अनेक प्रतिकूलता र अनेक सङ्कटका बीच पनि देशमा प्रगतिका केही काम भएका छन्। यसो सोच्नुहोस् त…

गाउँमा आएको बाटो २०४६ को परिवर्तनपछि आएको हो कि होइन ?

टुकी र दियालोमा बाँच्न अभिशप्त जिन्दगी र घरहरूमा आज बलेको बिजुली यही अवधिमा जोडिएको हो कि होइन ?

हिजोभन्दा आज धेरै गाउँमा, धेरैका आँगनमा पुगेको खानेपानीको सुविधा यही अवधिमा निर्माण गरिएका परियोजना र जोडिएका धाराबाट आएको हो कि होइन ?

गाउँमा दुःखसुख खुलेका स्वास्थ्य चौकी अनि बिमाको नीति के यही अवधिमा सुरु भएको होइन र ?

अनि म सोध्न चाहन्छु—

दुर्गम गाउँको पनि हातहातमा पुगेको सञ्चार सुविधा यो देशमा केही पनि नभएको उदाहरण हो कि केही सुरुवात भएको नमुना हो ?

बैङ्क, वित्तीय संस्थाहरू, एयरलाइन्सहरू, सञ्चारमाध्यमहरू लगायत निजी क्षेत्रको यत्रो विस्तार के यही अवधिमा देशले गरेको एउटा प्रगति होइन र ?

हो, योभन्दा बढी हुन सक्थ्यो, हुनुपर्थ्यो। तर एकातिर अनेक प्रतिकूलताका कारण हुन सकेन, अर्कातिर हाम्रा शासकीय कमजोरीका कारण हुन सकेन। यसप्रति हामी आत्मालोचित छौँ। तर जे भए, ती सबै हामी सबैका प्रयासले भए। अर्थात्, ‘केही पनि भएन’ भन्ने निराशा सत्यको जगमा उभिएको छैन। हामीले भएका कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी धेरै कामहरू पूरा गर्ने सङ्कल्प गर्नु छ। यो संसद्‌ले त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अघि जानु छ।

भदौ २३ र २४ को प्रश्न
आज हामी जहाँ यो बैठक बसिरहेका छौँ, यो हाम्रो संसद् भवन होइन। हाम्रो संसद् भवन भदौ २४ गते खरानी भयो। यो बेला त्यो खरानीलाई सम्झौँ, अनि सङ्कल्प गरौँ— हामी यसरी काम गरौँ ताकि भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरून्।

किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ? म सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु— भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ।

कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को ध्वंस देख्ने २३ को दमन नदेख्ने ! यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले समेत २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारबाहीको सिफारिस गर्‍यो; तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न।

नयाँ प्रधानमन्त्रीज्यूलाई म ध्यानाकर्षण गराउन चाहन्छु— जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने ? म आग्रह गर्न चाहन्छु, सरकारले सुझबुझपूर्ण ढङ्गले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस ‘दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न’ भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रस्ट र दृढ छौँ।

सुशासन र समुन्नतिको यात्रा
जेन–जी विद्रोहजस्तै विद्रोह र विस्फोट भविष्यमा हुन नदिन हामीले साँच्चै नयाँ र दूरदर्शी ढङ्गले सोच्न र काम गर्न जरुरी छ। किन बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन् ? म सोध्दिनँ, आजका नयाँ प्रधानमन्त्रीको नियतिमा के लेखिएको छ ? बरु म पूरा कार्यकालका लागि उहाँलाई शुभकामना दिन चाहन्छु। तपाईंलाई देशका लागि राम्रो गर्न हाम्रो प्रस्ट साथ रहनेछ।

तर, संविधानविपरीत कुनै कर्म भए, नागरिकले गरेको अपेक्षाविपरीत कार्य भए, हामी खबरदारी गरेर अघिल्तिर उभिनेछौँ। हामी चाहन्छौँ, नयाँ संसद् र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र समग्रमा समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गरोस्।

अन्त्यमा, म नेपाली कांग्रेसका तर्फबाट सबैलाई फेरि पनि सम्मान गर्दै निर्वाचन सम्पन्न गराउन निरन्तर दृढ साथ दिने सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, नेतृत्व गर्ने श्रद्धेय सुशीला कार्की र उहाँको नेतृत्वको सरकार, अनि अहोरात्र खटेर निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, सबै सुरक्षा निकाय, निर्वाचनमा खटिएका प्रहरी र सबै आदरणीय पत्रकार मित्रहरूप्रति हार्दिक आभार तथा सम्मान प्रकट गर्दछु।


(प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्देम्बेले प्रतिनिधिसभा बैठकमा राखेको मन्तव्य)