काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निस्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले मंसिर २९ गते आईपीओ निस्कासन गर्ने गरी धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले जारी गर्ने आईपीओको निस्कासन छिटोमा पुस २ र ढिलोमा पुस १३ गते बन्द हुने छ ।
कम्पनीले निस्कासन गर्ने ६० लाख कित्ता साधारण शेयरमध्ये सर्वसाधारणले ५४ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
बाँकी ६ लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेडले प्रभु इन्सुरेन्सलाई ‘बीबीप्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।