काठमाडौं । फ्रान्स सरकारले कोरोना भाइरस विरुद्ध अधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरुका लागि भनेर ९ अर्ब डलर बराबरको ऐतिहासिक पारिश्रमिक वृद्धिको घोषणा गरेको छ ।
हप्तौँ अगाडिदेखिको छलफलपछि सोमबार मात्र फ्रान्सले ट्रेड युनियनसँग संयुक्त रुपमा यस सम्बन्धी आधिकारिक हस्ताक्षर गरेको हो । कोभिड महामारी सुरु भए यता स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई सम्मान स्वरुप समाजको असली ‘हिरो’ को नाम दिइएको छ जसको कामलाई सर्वसाधारणले पनि उत्तिकै प्रशंसनीय ठहर गरेका छन् ।
तर सरकारले वास्तवमै आफूहरुलाई प्रोत्साहन गर्न चाहन्छ भने नामले मात्र हिरो नभनेर, अस्पतालहरुमा अधिक लगानी गर्न र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बढाउन भन्दै फ्रान्सका स्वास्थ्यकर्मीहरु माग गरिरहेका थिए ।
त्यही क्रममा प्रदर्शनमा उत्रिएका कतिपयमा सामाजिक दुरीको नियम पालन नगरेकामा जरिवाना पनि भएको थियो । युरोपको सबैभन्दा नराम्ररी प्रभावित मुलुकमा पर्ने फ्रान्समा संक्रमितको सङ्ख्या २ लाख रहेको छ भने तीस हजारको मृत्यु भएको छ ।
यस्तोमा फ्रान्स सरकारले घोषणा गरेको यो नयाँ पारिश्रमिक वृद्धिपछि सबै स्वास्थ्यकर्मीहरुको तलब औसतमा पनि महिनामा १८३ युरोले बढ्ने बताइएको छ । सो निर्णयलाई फ्रान्सको स्वास्थ्य प्रणालीकै ऐतिहासिक क्षण ठहर गरिएको छ ।
यो प्याकेज अन्र्तगत नर्स, बिरामीको हेरचाह गर्ने कर्मचारी र मेडिकल बाहेकका कामदारको तलब पनि समावेश छ । त्यस्तै सार्वजानिक क्षेत्रमा काम गर्ने डाक्टरहरुका लागि भने ४५ करोड युरो छुट्याइएको छ ।