काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्दलीय पञ्चायती सरकार र वर्तमान कम्युनिष्ट सरकारमा कुनै भिन्नता नरहेको बताएका छन् ।
नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत आज काठमाडौंको शान्तिबाटिकामा आयोजित विरोधसभामा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘पञ्चायती सरकारमा हामी रुख रोप्दा टाउको फोरिन्थ्यो, कम्युनिष्ट सरकारमा पुल बनाउँदा करङ भाँचिन्छ ।’
वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सहनै नसकेको बताए । लामो संघर्षपछि प्राप्त लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेको बताउँदै उनले भने ‘लोकतन्त्र सहन नसक्ने कुनै पनि शक्तिसँग हाम्रो असहमति छ’ ।
वरिष्ठ नेता पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेस सडकमा आएको बताउँदै सरकारलाई सचेत हुन सुझाब दिए ।
उनले सरकार सर्वसत्तावादी भएको आरोप लगाए ।
यो सरकार मुलुकमा सर्वसत्तावाद लाद्न उद्धत छ, उनले भने, कुनै पनि किसिमको सर्वसत्तावाद नलादियोस् भनेर जनता सडकमा ओर्लेका हुन्।
सरकार भ्रष्टाचारमा डुबेको छ भन्दै पौडेलले सरकारी ढुकुटीमा भइरहेको ब्रह्मलुट रोक्न पनि आवाज उठाउनु परेको बताए ।
नेकपाकै बहुमत नेताहरुले यो सरकार नालायक छ भनिसके भन्दै पौडेलले थपे, अब हरेक नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको छ ।
नेकपामा देखिएको विवादलाई संकेत गर्दै नेता पौडेलले विधिसम्मत रुपमा प्रधानमन्त्री परिवर्तन गर्न सुझाब दिए ।
संविधान अनुसार सरकार परिवर्तन गर्ने हो, उनले भने, ‘संसद बोलाउनुस् र प्रधानमन्त्री फेर्नुस् ।’