अवरुद्ध भएको २४ घण्टापछि सञ्चालनमा पठाओ, पूर्ववत् अवस्थामै कम्पनीले राइड सेवा दिने

  • प्रकाशित मिति : 2021-03-24
  • nepaltale.com

काठमाडौं । मंगलबार दिउँसोबाट अवरुद्ध भएको पठाओको एप्लिकेशन सेवा २४ घण्टा पछि आज सुचारु भएको छ । प्राविधिक कारणले सफ्टवेयरमा समस्या आएपछि सेवा अवरुद्ध हुन पुगेकोमा आज दिउँसो ३ बजेबाट पुनः सेवा सुचारु भएको कम्पनीले जानकारी दिएको छ ।

अनलाइन सफ्टवेयर सेवा सुचारु भएसँगै अब पूर्ववत् अवस्थामै राइड सेवा सुचारु भएको पठाओले बताएको छ । योसँगै पठाओद्वारा सञ्चालित बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।



यद्यपी सेवा सुचारु भएपनि राइडरहरुलाई कम्पनीको लोगो अंकित ज्याकेट ट्याक लगायतका प्रोटेक्टिभ गेयर प्रयोग भने बर्जित गरिएको बस्न्यातले बताए । पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरलाई राइड लिँदा पठाओको लोगो अङ्कित कपडा प्रयोग नगर्न अनुरोध गरेको बस्न्यातको भनाइ छ ।

त्यसलाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारवाही समेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने उनले बताए ।