नेपालमा कम्पनी दर्ताको संख्या अढाई लाख नाघ्यो, चुक्ता पुँजी २३ खर्ब नजिक

  • प्रकाशित मिति : २०७७ चैत्र १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । हालसम्म नेपालमा कानूनसम्मत दर्ता हुने व्यवसायिक फर्म तथा कम्पनीको संख्या अढाई लाखमाथि पुगेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार यस्तो संख्या हालसम्म २ लाख ५७ हजार ३ सय ७८ पुगेको हो ।
कुल २ लाख ५७ हजार कम्पनीहरु मध्ये २ लाख ५२ हजार ५९ कम्पनीहरु मात्र प्राइभेट अर्थात निजी फर्मको नाममा दर्ता भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

त्यस्तै, ३ हजार ३ सय २९ कम्पनी नाफा नकमाउने उद्देश्यले खोलिएका सामाजिक संघ–संस्थाहरु र एक हजार ६ सय ४३ कम्पनीहरु पब्लिक (सार्वजनिक) कम्पनीको रुपमा कार्यालयमा दर्ता भएका छन् । जसमध्ये ३ सय ४७ विदेशी कम्पनी समेत कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा दर्ता भएको रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले जनाएको छ ।



चुक्ता पुँजी २३ खर्ब नजिक

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार हालसम्म दर्ता भएका कम्पनीहरुको (सम अफ क्यापिटल) कुल चुक्ता पुँजी करिब २३ खर्ब नजिक पुगेको छ । कार्यालयका अनुसार यस्तो चुक्ता पुँजी हालसम्म कुल २२ खर्ब ८२ अर्ब १० करोड ६० लाख ८० हजार ५ सय ३० पुगेको हो ।

कम्पनीहरुको कुल जारी पुँजी २५३ खर्ब ६७६ करोड पुगिसकेको छ भने कुल अधिकृत पुँजी अधिकतम ३० हजार खर्ब माथि पुगेको छ । यता, कम्पनीमा लगानी रहने सेयर सदस्यहरुको संख्या भने, कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार निजी तर्फ ६ लाख ७६ हजार ५ सय ९५ जना र सामाजिक संघ संस्था तर्फ २२ हजार ८८ जना रहेका छन् ।