काठमाडौं। उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै उपत्यकाबाहिर जानेको संङख्या बढ्ने आकलन गरिएको छ । कोभिड – १९ को संक्रमण बढ्न नदिन गाडीमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
‘हामी सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिँदैनौँ । मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न लगाउँछौँ,’ उनले भने, ‘सामान्य समयमा दैनिक ४० हजार व्यक्ति उपत्यका बाहिरिन्छन् । निषेधाज्ञा हुन दुई दिन मात्र बाँकी भएकाले संख्या बढ्छ ।’
भोलिदेखि उपत्यकाका नाकामा विशेष निगरानी गरिने उनले जानकारी दिए । पहिलेको परिस्थति हेर्दा अनुमानित दैनिक १ लाख जनाले उपत्यका छोड्ने देखिएकाले सरकारको मापदण्डअनुसार धान्न मुस्किल पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए ।
‘सरकारले अलि पहिले निर्णय गरेर ४/५ दिन टाइम दिएको भए हुन्थ्यो । भोलि र पर्सि त हामीले कन्ट्रोल गर्न मुस्किल पर्छ,’ उनले भने ।
गाडीमा संक्रमण फैलिन नदिन यातायात व्यवसायीले मास्क, स्यानिटाइजरलगायतका मापदण्ड भने पालना गर्ने सिटौलाले बताए ।