लकडाउन एक हप्ता थप गर्न कार्यदलको सिफारिस

  • प्रकाशित मिति : २०७७ बैशाख १३, शनिबार
  • nepaltale.com

काठमाडौं । लकडाउनको समयसीमा एक हप्ता थप गर्न उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ। लकडाउनको मोडालिटि तयार गर्न जिम्मा दिएको कार्यदलले एक हप्ता लकडाउन बढाउन सिफारिस गरेको हो।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बिहान बसेको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएको थियो।

कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो।

अब लकडाउन थप गर्ने/नगर्ने विषयमा भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ। आजै बसेको बैठकले यसअघि जेठ २ गतेसम्मका लागि सम्पूर्ण उडान स्थगित गर्ने निर्णय गरेको छ।