काठमाडौं। निषेधाज्ञाको २० औ दिन आज मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् । काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन् ।
फाट्टफुट्ट बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ । अनुमति विना हिँडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै विना अनुमति सवारी साधन लिएर बाहिर निस्कनेहरूमा कमी आएको हो । त्यसैगरी निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो ।