लमजुङ । पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् ।
घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए । घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताउनुभयो । घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो ।
त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पु¥याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।
उमासहित उनकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइते हुनबाट जोगिइन् ।
अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ ।
जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्कबिना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिमसमेत बढेको छ ।