जनकपुर। धनुषामा विवाह भोजमा सहभागी भएका ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
मिथिला नगरपालिका ११ दुधपानी लोटा टोलस्थित मान बहादुर मगरले छोरा सन्तोष मगरको विवाह भोजमा सहभागी ४६ जनामा संक्रमण देखिएको हो ।
गाउँमा सबै मासिनहरु बिरामी पर्न थालेपछि नगरपालिकाले जेठ २ गते स्वाव संकलन गरी परीक्षण गराएको थियो । मंगलबार आएको रिर्पाटमा गाउँका ४६ जना संक्रमित रहेको पुष्टी भएको छ ।
कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी कोरोना परीक्षणका लागि पठाएकोमा ४६ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।
विवाहका सहभागी भएका अधिकांशमासंक्रमण देखिएको नगर प्रमुख हरि नारायण महतोले जानकारी दिए । उनका अनुसार विवाह भोजमा सहभागी हुन बाहिरका थुप्रै अतिथि आएका जनाइएको छ ।
अतिथिबाट नै संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।
नगरपाालिकामा स्रोतसाधन अभाव हुँदा संक्रमितहरु गाउँमै रहेको छन् । पालिकाले आइसोलेसन बनाउन नसकेको नगर प्रमुख महतोले बताए । तर,एकै पटक ४६ जनामा कोरोना पुष्टि भएपछि गाउँका मानिसहरु त्रसिद भएका छन् ।
संक्रमितहरु मध्ये गम्भिर देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको नगरकी उपप्रमुख ताराकुमारी बस्नेतले जानकारी दिइन् ।
उनकाअनुसार सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् । संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटिएको छ ।